वडाध्यक्षबाट अपाङ्ग दलित कुटिए

प्रेम सुनार, गुल्मी २०७४ साउन ५ । केहि दिन अघि गुल्मीमा एक जना दलित होटलमा खान खाएको भाँडा नमाझेको भन्दै निर्घात कुटिएको घटना सेलाउँन नपाउँदै गुल्मी मै फेरी अर्का दलित त्यो पनि नवनिर्वाचित वडाध्यक्षबाटै कुटिएका छन् ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ , ग्वाघाका नवनिर्वाचत वडाध्यक्ष टेकबहादुर पुनले स्थानिय अपाङ्ग दलित मानबहादुर बिकलाई कुटपिट गरेका हुन् । साउने सक्रान्तिको दिउँसो करिव ३ वजेको समयमा घरको तगारो नजिक वसी रहेका बिकलाई वडाध्यक्ष पुनले आएर एक्कासी चप्पल र हातले कानमा असर पर्ने गरी कुटपिट गरेको विरुद्ध चन्द्रकोट ईलाका प्रहरी कार्यालयमा उजुरी परेपछि आज सो कार्यालयमा छलफल चलिरहेको छ ।
त्यस विषयमा अहिले दुवै पक्षलाई बोलाएर छलफल चलिरहेको सो कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर कुँवरले जानकारी दिए । वडाध्यक्ष पुनबाट कुटिएका बिकको कानको जाली फुटेर सुन्न नसक्ने भएको उनका परिवारजनले बताएका छन् ।
टेलिफोन सम्पर्क गर्दा श्रीमानले कान सुन्न छाडेको भन्दै उनको श्रीमतीले फोन उठाईन् । के कसरी कुटिएको हो ? बताउन लगाउनुस भने पछि बिकले भने–‘ यहाँकी एक महिला संग चुनावको प्रचार ताका एमालेले जस्ता पाता र ५ हजारका दरले पैसा बाँड्छौं भनेको थियो के रे , अहिले एमालेले जिते पछि त त्यो देला नि, नत्र जनताले कालो मोसो दल्छन भनेर भनेको थिएँ । त्यो कुरो सुनेर एक्कासी आएर मलाई हाने, मैले कान सुन्नै छाडेको छु । ’
बिक बुटवलमा उपचार गरी हिजो साँझ घर आएका हुन् । वडाध्यक्ष पुनले बढि बोल्न पाईन्छ र ? जथाभावी वोले पछि सामन्य हात हालेकै हो, कानको जाली फुट्ने गरी चाँही होईन भने । दलित सञ्जाल चन्द्रकोटका अनुसार यस घटनामा जातिय विभेद नझल्कीए पनि दलितहरु माथी पहिलेको जस्तो हेपाह प्रवृत्ति चाँही हो ।
जथाभावी के बोले बिकले र कुट्नु भयो त ? भन्ने प्रश्नमा वडाध्यक्ष पुनले अहिले मासमा छु, पछि भनौला भनेर फोन राखे । जनतालाई जितको उपहार हो, झापड ? भन्ने प्रश्नमा उनी अलि अकमकिए ।
उता केहि दिन अघि किराना पसल संगै रहेको घरेलु मदिरा भट्टीमा खाना खाएको भाँडा नमाझेको भन्दै मरणशन्य कुटिएका मुसिकोट ४ , बडागाउँ हलोगाडेका कर्णबहादुर नेपालीको जिल्ला अस्पताल तम्घासमा उपचार सम्भव नभए पछि भैरहवा रिफर गरिएको छ ।
अन्य घाउँ यहाँ निको भए पनि नेपालीको आँखामा लागेको चोट निको नभए पछि आँखा अस्पताल भैरहबा रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ । नेपालीलाई त्यस अस्पतालमा १५ दिन बस्नु पर्ने डाक्टरले बताएको उपचार गर्न त्यहाँ पुराएकी बडागाउँकी मिरा बिकले जानकारी दिईन् ।
कुटपिट र जातिय विभेद गरेको आरोप लागेका कृष्ण कार्की यति वेला जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन भने उनकी आमा शोभा कार्की प्रहरीको निगरानीमा छन् । उनिहरु विरुद्ध अदालतमा छुवाछुत विभेद तथा कुटपिटको मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।
यस घटनालाई लिएर नेपाल राष्ट्रिय दलित आयोगका सदस्य मनजित ताम्राकारको नेतृत्वमा राजधानीका विभिन्न संस्थाबाट ८ जना अधिकारकर्मीको टोली आजै गुल्मी आउँदै छ ।

No comments

Powered by Blogger.